मकवानपुर – राष्ट्रिय नर्सिङ दिवशको अवसरमा मकवानपुरका तीन जना अग्रज नर्सहरुलाई सम्मान गरिएको छ । मकवानपुर सहकारी अस्पतालले दिवसको अवसरमा आज एक कार्यक्रमका बीच मकवानपुरका अग्रज नर्सहरु बुनु शर्मा, चम्पा कोजु र धन राईलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सहकारी अस्पतालका अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षता तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको प्रमुख आतिथ्यमा अग्रज नर्सलाई सम्मान गरिएको थियो । यस्तै सोही अवसरमा सहकारी अस्पतालमा लामो समयदेखि कार्यरत शान्ति लामा र पुस महिनाको उत्कृष्ट कर्मचारी सोनु पौडेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंलगाएको सहभागिता थियो ।