काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज अपराह्न ४ बजे पुनः बस्ने बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन ।
थप छलफल गरी ठोस निर्णयका लागि कानुनविद्हरूसँग परामर्श गरी आवश्यक निष्कर्ष निकालिने गरि अपराह्न ४ बजे बैठक पुनः बस्ने भएको छ । सोही अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा पुनः कानुनविद्हरूसँग छलफल गरिने भएको छ । यसअघि पनि सत्ता गठबन्धनले आगामी निर्वाचन खास गरी, स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्हरूसँग छलफल गरेको थियो । संविधानको धारा २२५ र स्थानीय तह सम्बन्धी ऐन, २०७३ बाझिएपछि कानुनविद्हरूले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए । यी लगायत समसामयिक विषयमा आज बिहान ९ः०० बजे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
आज बिहान बसेको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।











