काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच मुख्य गरी स्थानीय तहकाे निर्वाचनका बारेमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । यसअघि पनि गठबन्धन दल र शीर्ष नेताबीच पालिकाको चुनावबारे छलफल भएको थियो ।
निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको चुनावको मिति तोक्न ताकेता गर्दै आएको छ । तर गठबन्धनका बीचमा सहमति नजुटेका कारण सरकारले अहिलेसम्म मिति तोक्न सकेको छैन । सत्ता गठबन्धनमा ऐन संशोधन गर्ने र पालिकाको चुनाव केही पछि धकेल्नेबारे छलफल हुँदै आएको छ। यसअघि हिजो प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।