पूर्ण मात्रा खोप लगाउने एक करोड ३७ लाख नाघे

काठमाण्डाै – नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । सरकारले कोरोनाविरुद्धको खोप निःशुल्क दिँदै आएको छ । २०७७ साल माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यो एक वर्षमा अहिलेसम्म एक करोड ३७ लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ । एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र पूर्ण खोप लगाउने एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जना छन् । अतिरिक्त डोज अर्थात बुस्टर मात्रा लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार सात सय २४ छ । कुल जनसङ्ख्यामा एक मात्रा लगाउने ५४ दशमलव २ र पूर्ण मात्रा लगाउने ४५ दशमलव २ प्रतिशत रहेका छन् । लक्षित जनसङ्ख्यामा १८ वर्ष वा त्योभन्दा माथि एक मात्रा लगाउने ८२ दशमलव ६ र पूर्ण मात्रा लगाउने ६८ दशमलव ९ प्रतिशत पुगेको पछिल्लो तथ्याङ्क छ । सुरुमा खोप व्यवस्थापन र लगाउन चुनौती देखिएको भए पनि अहिले खोपप्रति आकर्षण बढेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताउनुभयो ।

health