फाइल फाेटाे

पाँचौँ निर्वाचन दिवस, “निर्वाचनमा सबै, सधैँ, सँगै” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । निर्वाचन आयोगले हिजो र आज निर्वाचन आयोग र सबै जिल्ला निर्वाचन कार्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले २०१५ सालमा पहिलो पटक मतदान भएको दिन फागुन ७ गतेलाई स्मरण गर्दै २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुन दृष्टि रहेको बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले इतिहासको विरासत र साखलाई खुम्चन नदिई आयोगलाई उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा पहिचान दिलाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न÷गराउन प्राविधिक तथा व्यवस्थापकीय रुपमा आयोग सक्षम रहेको उल्लेख गर्नुहुँदै राजनीतिक दलहरूले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा. जानकी कुमारी तुलाधरले पाँचौँ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवालाहरू र कर्मचारीले आ–आफ्नो भूमिका र जिम्मेवारीका साथ क्रियाशील हुन आव्हान गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्याल र रामप्रसाद भण्डारी तथा आयोगका सचिव सुरेश अधिकारीसहित आयोग सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा २० वर्ष सेवा गर्नुहुने कर्मचारीलाई दीर्घ सेवा पदक र विभिन्न कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्नुभएको थियो ।