काठमाडौँ – आगामी फेब्रुअरीमा ओमान हुने टी-२० विश्वकप ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ । युवा ब्याट्सम्यानहरुलाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा टि२० विश्वकप ग्लोबल छनोट ए को लागि अन्तिम १६ सदस्य टोली घोषणा गरेको हो ।
टोलीमा हालै सम्पन्न प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादवले स्थान बनाएका छन् भने शरद भेषावकर, प्रदीप ऐरी र तीव्र गतिका बलर जितेन्द्र मुखियाले पुनरागमन गरेका छन् । टोलीमा नियमित खेल्दै आएका तीव्र गतिका बलर सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी भने अटाएनन्। ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ देखि २५ फेब्रुअरीसम्म आयोजना हुनेछ । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी रहेका छन ।