मकवानपुर – मकवानपुर जिल्लामा बिहीबार (भोली) बाट कोरोना बिरुद्धको खोप अभियान संचालन गरिने भएको छ । जिल्ला खोप समन्वय समिती मकवानपुरको बुधबार बसेको बैठकले खोप लगाउनेको संख्या कम देखिएका जिल्लाका विभिन्न स्थानीय तहमा भोली बिहीबारबाट खोप अभियान संचालन गर्ने निर्णय गरेको हो ।
बिशेषगरी जिल्लाका मनहरी, राक्सिराङ, कैलास र बकैया गाँउपालीकामा अधिकांश नागरिकले खोप नलगाएको पाईएकाले उक्त गाँउपालीकाहरुमा खोप अभियान संचालन गरिने जिल्ला खोप समन्वय समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । जिल्लामा ५३ प्रतिशतले मात्र कोभिड बिरुद्धको खोप लगाएको तथ्याक रहेकाले बाँकी रहेकाहरुलाई पनि अनिवार्य खोप लगाउन आग्रह गर्दै खोप अभियान संचालन गर्ने निर्णय भएको पाण्डेले बताउनुभयो ।
बैठकले विशेषगरी विकट स्थानिय तहहरुमा अपेक्षाकृत खोप कार्यक्रम सफल नभइरहेको सन्दर्भमा भोलीबाट उक्त स्थानीय तहका सरकारी कार्यालय, विद्यालय एवम् मानिसहरुको भिडभाड हुने स्थानहरुमा हेल्थ डेस्क स्थापना गर्ने र खोेप नलगाएका स्थानियहरुलाई खोप लगाउन उत्प्रेरित गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा खोप समन्वय समितीका सदस्यहरु, जिल्लाका शुरक्षा निकायका प्रमुखहरु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधीहरुलगायतको उपस्थिति रहेको थियो ।