मकवानपुर – नेपाली कांग्रेस मकवानपुरले शुक्रबार ४६ औं ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा नेपाली काङ्ग्रेसकी केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यतामा मेलमिलाप दिवस मनाईएको हो ।
कार्यक्रममा सहमहान्त्री उपाध्यायले कांग्रेसका संस्थापक नेता बीपी कोईराला लगायतका अन्य नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय मेलमिलाप दिवस’ का रुपमा मनाउने गरेको स्मरण गर्नुभयो । उहाँले अहिले सबैैले बीपी कोईरालाको विचारलाई सम्झनुपर्ने बताउनुभयो । उहाँले पार्टी, विधान, दस्तावेज बीपीकोे विचारमा आवद्ध रहेको बताउनुभयो ।
संविधानलाई लोकतान्त्रिक बनाउँदै गर्दा बीपीको विचार, समावेशितालाई लिएर राष्ट्रलाई समावेशी बनाएको उपाध्यायाको भनाइ थियो । नेपाली काङ्ग्रेसको बहुमत सरकार बनेपछि मात्र आर्थिक उन्नति, आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणका कुराहरु सम्भव हुने नेतृ उहाँले दावी गर्नुभयो । नेपाली काङ्ग्रेस मकवानपुरका उपसभापति विष्णु प्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईरालालगायत नेता कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो ।