हेटौंडा– नेपाली कांग्रेगको १४ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्लाकाे अधिवेशन पुष २७ गते हुने भएकाे छ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी रहेका मकवानपुरसहित १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको हाे ।
अधिवेशन हुन बाँकी रहेका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा , पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका जिल्लामा आगामी पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो । प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा मकवानपुरसहित चितवन, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा अधिवेशन रोकिएको थियो । गण्डकी प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।