मकवानपुर
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले अशक्त नागरिकलाई घरमै पुगेर शनिबार नागरिकता वितरण गर्नुभएको छ । प्रजिअ पाण्डेले जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेकी ३२ वर्षीया लिलावती गिरीलाई शनिबार नागरिकता वितरण गर्नुभएको हो ।
मानसिक सन्तुलन गुमाएकी गिरीलाई परिवार र आफन्तले जिल्ला प्रशासन कार्यालयसम्म पु¥याएर नागरिकता दिलाउन सम्भव नभएको भन्ने जानकारीपछि प्रमुख जिल्ला अधिकारी आफैं नागरिकता वितरणका लागि गिरीको घरमा पुग्नुभएको हो । शनिबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको उपस्थितिमा प्रजिअ पाण्डेले गिरीलाई नागरिकता हस्तान्तरण गर्नुभएको हो । घरमै आई मानसिकरूपमा अशक्तलाई नागरिकता प्रदान गरिएकोमा आफूलाई ठूलो राहत महसुस भएको निजको दाइ (संरक्षक)ले खुशी व्यक्त गर्नुभयो ।
२०५९ सालमा माओवादी द्वन्द्वको समयमा घर नजिकै एम्बुस विष्फोट हुँदा श्रवणशक्ति गुमाउनुका साथै मानसिक सन्तुलन समेत गुमाउनु भएकी गिरीले नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सजिलो हुने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकाले नै नागरिकता शिविरको आयोेजना गर्दा विशेषगरी अशक्त, ज्येष्ठ नागरिकहरु लाभान्वित भइरहेको जानकारी गराउनुहुँदै अध्यक्ष उप्रेतीले आगामी दिनमा पनि शिविरको आयोजना गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी पाण्डेसँग छलफल भएको जानकारी दिनुभएको छ । प्रजिअ पाण्डेले पनि आवश्यकताअनुसार शिविरको आयोजना गर्दा प्रशासनले सहयोग गर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।