मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नेपाली सेनाका मध्य कमाण्ड पोखराका उपरथी बाबुराम श्रेष्ठबीच आज मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा प्रदेश प्रमुख शर्माले आम नागरिकको सेवाका लागि नेपाली सेनाले सक्रियतापूर्वक महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंशा गर्नुभयो ।

“नागरिकको सेवाका लागि नेपाली सेनाले निर्वाह गरिरहेको भूमिका प्रसंशनीय छ’, “विभिन्न विपद् व्यवस्थापन, उद्दारका काममा नेपाली सेनाले विशीष्ट योगदान पुर्याउनुभएको छ ।’ प्रदेश प्रमुख शर्माले भन्नुभयो । समाजमा नागरिकका भावना बुझ्दै आफ्ना कार्यमा लागिपरेको बताउँदै शर्माले समाजको उत्थान तथा विकासका लागि सेनाको योगदान सह्राहनीय रहेको उल्लेख गर्नुभयो ।
यस्तै, प्रमुख शर्माले सिमान्त समुदायका नागरिकलाई मूलधारमा ल्याउँनका लागि नेपाली सेनासंग सहकार्य गरिनुपर्ने बताउनुभयो । भेटका क्रममा उपरथी श्रेष्ठले आफूहरु नागरिकको सेवाका लागि लागिपरेको बताउँदै प्रदेश प्रमुखसंगको भेटले थप उत्साह मिलेको बताउनुभयो । वर्षायाम सुरु हुन लागिरहेकाले आफूहरु विपद् व्यवस्थापनको तयारी अवस्थामा रहेको उपरथी श्रेष्ठले बताउनुभयो । भेटमा प्रमुख शर्माले उपरथी श्रेष्ठलाई मायाको चिनोका रुपमा काठको ठेकी प्रदान गर्नुभएको थियो ।