मकवानपुर – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत आज पुरुष फुटबल, महिला क्रिकेट र ब्याटमिन्टनको खेल भएकाे छ । आज भएको फुटबल प्रतियोगितामा भक्तपुर क्वाटर फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा रसुवालाई शुन्यका बिरुद्ध ६ गोल गर्दै भक्तपुर क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
रसुवालाई फराकिलो गोल अन्तरले पराजित गर्ने क्रममा भक्तपुुरका तर्फबाट सोनित दाहाल, अनिक श्रेष्ठ, सविन खड्का र रविन भट्टरार्ई एक–एक गोल गरे । भने, यस्तै विपुल श्रेष्ठले दुई गोल गरेका थिए । विपुलले एक गोल पेनाल्टीमार्फत गरेका हुन् । खेलको म्याच अफ द म्याच विपुल श्रेष्ठ घोषित भए । भक्तपुरले अब बिहिबार दोेलखासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत आज नै भएको पहिलो खेलमा सिन्धुलीले काठमाडौँलाई शुन्यका बिरुद्ध ६ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा बुधबार दुईवटा खेल हुनेछन् । पहिलो खेल धादिङ र काभ्रेपलान्चोकबीच र दोस्रो खेल सिन्धुली र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताउनुभयो ।
महिला क्रिकेटमा काठमाडौं विजयी
यस्तै चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटतर्फ काठमाडौं विजेता भएको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रथम भएको हो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रन बनाएको थियो । काठमाडौंको तर्फबाट कन्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३ रन बनाउनुभएको थियो ।
जवाफी ब्याटीङमा चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनायो । भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, परिषद् सदस्य सचिव सुर्यलाल भण्डारीले विजेता र उप विजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरुष तर्फको खेल भने बुधबार हुनेछ । पहिलो खेल रामेछाप र नुवाकोट र दोस्रो खेल रसुवा र धादिङबीच हुने खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताउनुभयो । पूरुषतर्फ सिन्धुलीले सहभागिता जनाएको छैन् ।
ब्याटमिन्टनमा चितवन र धादिङ प्रथम
प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा पुरुषतर्फ चितवन प्रथम भएको छ । आज मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउदैं चितवन प्रथम भएको हो । यस्तै दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताउनुभयो ।
महिला तर्फभने धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अंकले पराजित गर्दै प्रथम भएको हो । त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्टले बताउनुभयो । ब्याटमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।
प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिव लगायतले मेडल, प्रमाण र नगद सहित पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः तीस हजार, चौविस हजार र अठार हजार प्राप्त गरेका छन् ।