मकवानपुर – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका कारण बागमती प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलले गठबन्धन सरकारले भागबन्डाको नाममा राज्य स्रोतको दुरुपयोग गरेकोलगयत बिषयमा मुख्यमन्त्री राजेन्द्र पण्डेको जवाफको माग गर्दै बैठक अबरुद्ध गरेपछी भोलि सम्मकालागी प्रदेशसभा स्थगित भएको हो ।
आजको बैठकमा एमाले नेता एवं पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले भागबण्डाको नाममा ७ वटा मन्त्रालयलाई १४ वटामा वृद्धि गरेर राज्यको स्रोतको चरम दुरुपयोग गरेको, आफ्नो दलको कमिटी विस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति, प्रदेशको महत्वका योजनाहरुको कटौती विषयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले जवाफ नदिएसम्म प्रदेश सभा चल्न नदिने बताउनु भएको थियो । पौडेलले बोलेपछि एमाले सांसदहरुले प्रदेश सभा अवरुद्ध गर्नुभएको थियो । बैठक अवरुद्ध भएसंगै सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक पुस ८ गते बिहान ११ बजे बस्ने गरि स्थगित भएको जानकारी गराउनु भएको थियो ।