मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । प्रदेशमा गठबन्धनको सरकार गठन भएसँगै तेस्रो पटक मन्त्रीपरिषद् विस्तार हुन लागेको हो ।
मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गर्नु भएको हो । स्रोतका अनुसार आज थप गरिएको मन्त्रिहरुमा सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट २ जना मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट ३ जना मन्त्री थप गरिएको हो ।
आज नियुक्त हुनु भएका मन्त्रिहरुमा माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल हुनुहुन्छ । भने एकिकृत समाजबादीबाट खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त हुनुभएको छ । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीको आजै सपथ ग्रहण गराउने तयारी गरिए पनि आधिकारी पत्र आइनसकेको कारण आज सपथ हुने या नहुने भन्न नसकिएको प्रदेश प्रमुख कार्यालयका प्रेस सम्योजक शिव चौलागाईले जानकारी दिनुभयो ।
यो संगै बागमतीमा मुख्यमन्त्री सहित ११ मन्त्री र एक राज्य मन्त्रीको सरकार बनेको छ । बागमती प्रदेशमा हाल ५ जना मन्त्री छन् । ८ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएसँगै मन्त्री नियुक्त गर्न लागिएको हो । नेपाली कांग्रेसले भने मन्त्री बन्नेको सुचि उपलब्ध गराएको छैन । यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री बन्नु भएको थियो । भने, दोस्रो चरणमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामा स्वास्थ्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।











