काठमाडौँ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्षतर्फ)को मतपत्र छपाइ सुरु गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्रगत रुपमा छुट्टाछुट्टै हुने गरी ४ सय ९५, प्रतिनिधिसभाको समानुपातिक १ र प्रदेशसभाको समानुपातिक ७ गरी जम्मा ५ सय ३ प्रकारका मतपत्र छपाइ गरिने आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।
हिमाली र उच्च पहाडी जिल्लाहरूको मतपत्र पहिला छपाई गरिने र छपाई सकिएका जिल्लाहरूको मतपत्र ढुवानी सुरु गरिने सहायक प्रवक्ता भुसालले बताउनुभयो । बुधबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेसँगै मतपत्रको छपाई सुरु गरिएको र मतपत्रमा अन्तिम नामावली प्रकाशनमा नाम रहेका उम्मेदवारको मात्र चिह्न रहने आयोगले जनाएको छ ।