काठमाडौँ – नेकपा एमालेले २६ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा हिजोदेखि जारी भएर आज सकिएको केन्द्रिय कमिटी बैठकले ५४ जना पोलिट ब्युरो सदस्य र ४५ जना केन्द्रिय सदस्य मनोनित गरेको पाटीका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।
यस्तै केन्द्रिय कमिटी बैठकले सातै प्रदेशका इन्चार्ज पनि चयन गरेको छ । प्रदेश एकमा देवराज घिमिरे, प्रदेश दुईमा रघुवीर महासेठ, बागमती प्रदेशमा काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा पदमा अर्याल, लुम्बिनी प्रदेशमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदेश इन्चार्ज चयन गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो । केन्द्रिय कमिटी बैठकले देशभर एकै दिन पौष २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।
यसैगरी दशौँ महाधिवेशनबाट निर्वाचित ३०१ जना केन्द्रिय सदस्यको जिम्मेवारी पनि तोकिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । केन्द्रिय कमिटी बैठकले पेश गरेको १५ वटा एजेन्डामा छलफल गरी सहमति भएको नेकपा एमालेले जनाएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा बसेको बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम अनुमोदन गरेको हो । कमिटीमा २२ नयाँ अनुहार समेटिएका छन् । यस्तै ६ महिला पनि कमिटीमा परेका छन् । असन्तुष्ट समूहका घनश्याम भुसाल र भीम आचार्य स्थायी कमिटी सदस्यमा रहेका छन् ।
नेकपा(एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेन्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये नौ एजेन्डामा छलफल गरेर निर्णयमा पुगेको र आजको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, पोलिट ब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्य विभाजन लगायत छ एजेन्डामा छलफल गरेर निर्णय गर्ने जानकारी दिनुभयो । पहिलो दिनको बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन, फागुन मसान्तसम्म सबै जन वर्गीय सङ्गठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गर्नाका साथै पार्टीको विधानमा आवश्यक सम्पादन गरी प्रकाशन गर्न र पार्टीको नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नेता खगराज अधिकारी र रमेश बडाल सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरिएको छ । त्यस्तै बैठकले आगामी पाँच वर्ष नेकपा (एमाले) पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र पाँच वर्षभित्र बल्खुमा पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर प्रविधिमैत्री भवन बनाएर सर्ने, आगामी पुस भरिमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनभरिमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउँदै महाधिवेशनका सन्देशसमेत प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको छ ।