मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले माव अधिकारको रक्षा गर्नु सरकारको कर्तव्य रहेको बताउनुभएको छ । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धी हेटौंडामा भएको कार्यशालामा पाण्डेले मानब अधिकारको रक्षाका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले आफुले मानव अधिकार हनन नगर्ने र हनन भएको देखे÷ सुनेमा रक्षाको लागि सबै व्यक्तिले पहल गर्नुपर्ने बताउनुभयो । मानव अधिकारको सन्दर्भ, सवाल, यसको रक्षा, चुनौतीबारे प्राथमिक तहको पाठ्यक्रममा नै बिषयवस्तु समावेश गर्नु पर्ने तर्फ सरकारले सोच्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सुर्यप्रकाश शर्मा ढुङ्गेलले नेपालको संविधान विश्वमा नै मानव अधिकारमैत्री भएको बताउनुभयो । उहाँले मानव अधिकार रक्षा गर्न खोज्दा राज्यले नै मानव अधिकार हनन भएको आरोप आउने गरेको समेत बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माले मानव अधिकार प्रत्याभूत गर्न कुनै व्यक्ति, राज्य वा संस्था लागेर मात्रै संभव नहुने बताउंदै सबैले एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । नीति, रणनीति निर्माण गर्दा, आवश्यकतालाई मनन गरेर बनाउदा कार्यान्वयनमा सहजता देखिने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रकोप, बिपत्ति तथा आधारभूत बिषयमा मानव अधिकार संरक्षणको बारेमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्लामा खड्कीएको बिषयवस्तु तथा जिल्लाको मानव अधिकारको अवस्था बारे अर्यालले स्पष्ट पार्नुभएको थियो । यसैगरी आयोग बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले प्रदेशमा मानव अधिकारको अवस्था बारे जानकारी गराउनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो ।