काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जारी महाधिवेशनले देशलाई डर, त्रास र भएबाट मुक्त गरी लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजको निर्माण गर्न सक्ने नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले देशमा लोकतन्त्रको स्थापनाका लागि पटक–पटक लडेर आएको नेपाली काँग्रेसको काँधमा अब उपरान्त कहिल्यै पनि तानाशाही सरकार आउन नसक्ने सुनिश्चित गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसको महाधिवेशन उद्घाटनका अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र तथा देशको विकास जस्ता साझा सरोकारका मुद्दामा सबै राजनैतिक दलहरूसँग सहकार्य गर्न आफ्नो दल तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई स–साना मुद्दा र स्वार्थमा नअल्झी देश निर्माणको काममा नेतृत्वदायी भूमिका खेल्न आग्रह समेत गर्नुभयो ।
महाधिवेशन उद्घाटनका अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशलाई गति दिन राजनीतिक दलहरू आपसी समझदारी र एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले राजनैतिक दलहरू बिच हुने प्रतिस्पर्धा भित्र पनि एकता खोज्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।
पूर्व प्रधानमन्त्री एवं एकिकृत समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार र राज्य सत्ताको दुरुपयोगबाट राजनीतिमा विकृति भित्रने गरेको हुनाले यसको अन्त्यका लागि सबै राजनैतिक दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो । राजनैतिक दलहरू जिम्मेवार हुन नसक्दा नेपालको राजनीति पटक–पटक प्रतिगमन तर्फ जाने गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले जनताको बलिदानबाट प्राप्त परिवर्तनको रक्षाका लागि राजनैतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
महाधिवेशनको उद्घाटनका अवसरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनैतिक दलहरू भित्र लोकतान्त्रिक आचरणको विकास हुन नसक्दा त्यसको प्रतिकूल प्रभाव राज्य सञ्चालनमा समेत देखा परेको बताउनुभयो । वरिष्ठ नेता पौडेलले परिवर्तनको नेतृत्व गरेका राजनैतिक दलहरू नै परिवर्तित व्यवस्था अनुकूल व्यवहार गर्न नसक्दा संसद्, अदालत तथा राज्यका विभिन्न अङ्गमा गतिरोधको अवस्था देखा परेको बताउनुभयो । उहाँले देशलाई गुटबन्दी र अति दलीय राजनीतिबाट मुक्त गरी सबै नागरिकका अधिकार सुनिश्चित गर्नु नै अहिलेको प्रमुख राजनीतिक दायित्व भएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकीय पद्धतिलाई समावेशी बनाउन सके मात्रै लोकतन्त्र बलियो हुने र देश विकासले गति लिने बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर मधेसका माग र मुद्दाको सुनुवाइ हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन संसद्, अदालत जस्ता राज्यका महत्त्वपूर्ण निकायहरूमा विभिन्न विकृतिहरू देखिएका विकृतिहरू अन्त्यका लागि राजनैतिक दल र त्यसको नेतृत्वले जनताको विश्वास आर्जन गर्न जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताको मुद्दामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सिपि मैनालीले नेपालको आन्तरिक राजनीतिमा हुने वैदेशिक हस्तक्षेपलाई निषेध गर्न सबै राजनैतिक दलहरूले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
महाधिवेशनमा आज नै बन्द सत्रको कार्यक्रम समेत हुने नेपाली काँग्रेसले जनाएको छ । यस्तै भोलि मङ्सिर २५ गते उम्मेदवारी दर्ता तथा उम्मेदवारी विरुद्धको दाबी विरोध र जाँचबुझको समय निर्धारण गरिएको छ भने मङ्सिर २६ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन हुने छ भने मङ्सिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।