मकवानपुर – नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष रहनुभएका श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी छाडेको भोलिपल्टै पोखरेल नेकपा एमाले प्रवेश गर्नुभएको हो । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्नुभएको हो ।
यसअघि बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी अध्यक्ष भएर नेतृत्व गरिरहनुभएका पोखरेलले पार्टीमा व्यक्तिवाद हावी हुँदै गएको, सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने प्राइभेट कम्पनि जस्तै भएको भन्दै पार्टी छाडेको घोषणा गर्नुभएको थियो । पोखरेलसँगै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरु उत्तम शर्मा न्यौपाने, देवेन्द्रप्रसाद कोइराला पनि नेकपा एमाले प्रवेश गर्नुभएको छ ।