काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सम्पन्न एकता महाधिवेशनमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गर्नुभयो ।
महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री त्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राष्ट्रियता, प्रजातन्त्र र उद्धारबादको नीतिअनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको छ ।