मकवानपुर – नेपाली कांग्रेसका पुर्व उप–सभापति प्रकाशमान सिंहले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौंडामा उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली कांग्रेस विपि, गणेशमान र गिरिजाप्रसाद कोइरालाको विचारबाट बाहिरिएको भन्दै अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने बताउनुभयो ।

नेता सिंहले नेपाली कांग्रेस विपि, गणेशमान र गिरिजाप्रसाद कोइरालाको विचारबाट बाहिरिएको भन्दै अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “अरूसँग प्रतिस्पर्धा गर्नु पर्ने पार्टी आन्तरिक किचलोमा फस्यो, विपी, गणेशमान, जिपीको विचार अनुसार पार्टी चल्न सकेन, अब नेतृत्व फेरिनुपर्छ ।” नेता सिंहले नेपाली कांग्रेस पछिल्लो समय आन्तरिक किचलोमा फसेको बताउनुभयो । कांग्रेसले देशको नेतृत्व गर्नुपर्ने समयमा आफै आन्तरिक किचलोमा फसेको कारण देशलेनै समस्या भोग्नु परेको भन्दै सिंहले नेतृत्व परिवर्तन गरि कांग्रेसलाई पुनः देशको अग्रणी तथा शक्तिशाली पार्टी बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काग्रेशका सहमहामन्त्री प्रकासशरण महत, पुर्व मन्त्री एवम कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । पार्टीको बागमती प्रदेशको नेतृत्व चयन गर्ने अधिवेशनमा मंसिर १७ गते (भोली) मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ । अधिवेशनमा प्रदेशका १३ जिल्लाका करिब १९ सय प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली काग्रेशको बागमती प्रदेशसभापति पदमा तीन जनाले उमेदवारी दिने तयारी रहेको छ । सभापतिमा शेरबहादुर देउवा पक्षबाट कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधान रहेका छन् । अधिवेशनको नेपाली काग्रेशका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन् गर्नु भएको हो ।