file photo

मकवानपुर — अविरल वर्षासँगै गएको पहिराले मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएको छ । पहिरोले राक्सिराङमा चारवटा र कैलाशमा तीनवटा घर भत्किएका हुन् । राक्सिराङ–७ चरिमारमा आएको पहिराले घर भत्काएको छ भने केही घर बगाएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार स्थानीय वीरबहादुर सुनारको कच्ची घर पहिरो भत्काएको छ । सोहि वडाको दुगुवाङमा बुद्धिलाल प्रजाको गोठ र गोठमा रहेको तीन वटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको मल्लले जानकारी दिए । यसै वडाको धकाङ्टोलमा रहेको बनैली मायाा प्रजाको घर पहिरोले बगाएको छ भने अन्य ४ वटा घर जोखिममा रहेको छ । पानी परिरहेकोले पहिरोमा घर बगाएकाहरुको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाइ भएको गाउँपालिकाले जनाएको छ ।
कैलाश गाउापालिका–२ ,३ र ४ वडामा तीन वटा घर भत्काएको हो । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको फोकलपर्सन श्यामसुन्दर महत्तोले घर भत्किएको सूचना आएको बताए । ‘धेरै खेतहरु पुरिएका छन् । पशु चौपाया मरेका छन्,’ उनले भने । गाउँपालिकाको विभिन्न स्थानमा पनि पहिरोले क्षति पुर्‍याएको जानकारी आए पनि सञ्चार सेवा विच्छेद हुँदा समस्या परेको मल्लले बताए । महत्तोले गाउँपालिकाको नारायणटारमा घर चर्केको खबर आए पनि फोन सम्पर्क गर्न नसकेको र त्यहाँ पुग्नको लागि पनि बाटो अवरुद्ध रहेको बताए । लगातार पानी परिरहेको हुँदा जेसीबीले पहिरो पन्छाउन पनि नसकेको उनको भनाइ छ । कैलाश–१० मा ३५ घर जोखिममा परेको स्थानीयले बताएका छन् । यस वडाको विभिन्न स्थानमा पहिरो जाँदा ३५ घर जोखिममा परेका हुन् । स्थानीय मिरा स्याङ्तानका अनुसार वडाको सुकुभञ्ज्याङ, दरबार डाँडा, दुबेखेत, खोलाखेत, तिलालडाँडा र दुबोखोलामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाले ३५ घरका एकसय ७५ जना जोखिममा रहेका छन् । ‘महिला, बालबालिका र ज्येष्ठ नागरिक घर छोडेर सुरक्षित स्थानमा बसिरहेका छन् । तर केही घर पहिरोलो भत्किएको छ भने केहि घर भत्कने अवस्थामा पुगेका छन् । अहिलेसम्म त ज्यान जोगिएकै छ । अब के हुन्छ थाहा छैन,’ स्याङ्तानले भनिन् । उनको अनुसार त्यस क्षेत्रमा अहिले विद्युत सेवा पूर्णरुपमा अवरुद्ध छ । ‘मोबाइलमा नेटवर्क पनि छैन । सम्बन्धित निकायमा जानकारी गराउन असाध्यै गाह्रो भइरहेको छ,’ उनले भनिन् ।
इकान्तिपुरबाट ।