मकवानपुर — बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै दुई मन्त्री थप्नुभएको हो ।
कात्तिक ११ गते मुख्यमन्त्रीको शपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएका पाण्डेले बिहीबार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । उहाँहरुले बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाउनुभएको थियो । भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।