हेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त भएका छन् । पाण्डे २०१३ साल जेठ २९ गते धादिङको गजुरी २ मा जन्मिएका हुन् । बिहीबार उनले ४ सदस्यीय मन्त्रिपरिषद् समेत गठन गरेका छन् । नेकपा माले, एमाले हुँदै एकीकृत समाजवादीको तर्फबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डेको राजनीतिक यात्रा यस्तो छ ।
राजेन्द्र पाण्डेले ७ पटक जेल जीवन बिताएका छन् । २०३१ सालमा १७ दिन, २०३२ सालमा ४२ दिन, २०३३ मा १ वर्ष, २०३७ सालको शिक्षक आन्दोलमा २८ दिन, २०३८ मा ३६ दिन, २०४२ मा ९ महिना, २०४४ सालमा १७ महिना जेल गएका थिए । २०३१ सालमा सिक्मिलाई भारतमा गाभ्ने कार्यविरुद्ध राष्ट्रिय आन्दोलनमा सहभागी पाण्डे, २०३२ सालबाट सरस्वती क्याम्पसबाट विद्यार्थी आन्दोलनको नेतृत्व सुरु गरेका थिए । विद्यार्थी आन्दोलनमा गिरफ्तार हुँदै केन्द्रीय कारागारमा ४२ दिन उनले बिताएका थिए । त्यहाँबाट केन्द्रीय राजनीतिमा उनको सम्पर्क बढेको थियो ।
२०३३ सालमा केन्द्रीय कारागार जेल कमिटिको सदस्य तथा कोकेको सदस्यता पाण्डेले प्राप्त गरे । २०३४ सालमा प्रथम भ्यालि अर्गनाइजिङ कमिटीको सदस्य, २०४२ सालको पुसपछि २०४७ पुससम्म नेकपा (माले) धादिङको जिल्ला कमिटी सदस्य बनेका थिए । २०४७ साल पुसदेखि २०५२ सम्म नेकपा एमालेको धादिङको जिल्ला सचिव, २०५० बैशाख २० देखि २०५४ सम्म अञ्चल कमिटी सचिव, २०५५ मंसिर ५ गतेदेखि २०६५ सालसम्म एमालेको केन्द्रीय सदस्य, २०६५ सालदेखि २०७४ सालसम्म एमालेको पोलिटब्युरो सदस्य, २०७४ सालदेखि २०७८ भाद्र ९ गतेसम्म नेकपा र नेकपा एमालेको केन्द्रीय सदस्य हुँदै २०७८ भाद्र ९ गतेदेखि नेकपा एकीकृत समाजवादीको प्रथम उपाध्यक्ष र बागमती प्रदेशको संसदीय दलको नेतामा चयन भएका थिए ।
पाण्डे यसअघि २०४४ मा जनपक्षिय धादिङ जिल्ला पञ्चाय सभापति निर्वाचित भएका थिए । यस्तै पाण्डे २०४८, २०५१ र २०५६ सालको प्रतिनिधि सभाको निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा लगातार ३ पटक निर्वाचत भइसकेको हुन् । २०५१, २०५३ सालसम्म सचेतक र २०५३ देखि २०५५ सम्म प्रमुख सचेतक समेत भएका थिए । २०६३ जेष्ठ ८ गते देखि २०६३ चैत्र १८ गतेसम्म स्थानीय विकास मन्त्री, २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेको तर्फबाट धादिङ क्षेत्र नम्बर ३ बाट निर्वाचित, २०७४ सालको प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १(१) बाट निर्वाचित भएका थिए । पाण्डेले अमेरिका, चीन, इटली, जापान, जर्मन, स्वीजरल्याण्ड, बेलायत, फ्रान्स, मलेसिया, फिलिपिन्स, थाईल्यान्ड, सिंगापुर, भेनेजुयला, तान्जेनिया, ब्राजिल, दक्षिण कोरिया, अष्ट्रेलियालगायत देशको भ्रमण गरिसकेका छन् ।