मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडामा भू–तथा जलाधार कार्यालय स्थापना गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको भू–तथा जलाधार कार्यालयको बुधबार प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।

कार्यालयको उद्घाटन् गर्नुहुँदै निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको मर्मअनुसार कार्यालय खोलिएको वताउनुभयो । सरकारले जनताको मर्मअनुसार काम गर्ने भएकाले जिल्ला स्तरका कार्यालय खोलीएको भन्दै उहाँले कामको सुरुवात भएको छ त्यसअनुसार काम गर्न लाग्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले अहिले पनि वन क्षेत्र र खोलाको किनार क्षेत्रको अतिक्रमण भएकाले यसको नियन्त्रण गर्नुपर्ने वताउनुभयो । पानीको मुहानहरु सुक्दै गएकाले वनको संरक्षणमा लाग्न आग्रह गर्नुभयो । सकेसम्म टाढाका नागरिकलाई तल्लोतह सम्म सेवा दिने उदेस्य सरकारको रहेको उहाँको भनाई थियो । प्रदेश सरकारले प्रदेशका ललितपुर र सिन्धुपाल्चोक जिल्लामा मात्र रहेको जलाधार कार्यालय थप तीन जिल्लामा स्थापना गरेको हो । अब रामेछाप, नुवाकोट र मकवानपुर सहित पाँच वटा कार्यालयले प्रदेशका १३ वटा जिल्लाको भू–तथा जलाधार क्षेत्रमा काम गर्ने छ ।
कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब डाक्टर सिन्धुप्रसाद ढुंगाना लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।