मकवानपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) मकवानपुरको महिला विभागले सेनेटरी प्याडको भन्सार शुल्क र भ्याटलगायतका राजश्व छुटकाे माग गर्दै सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । अनेरास्ववियु मकवानपुरको महिला विभाग प्रमुख स्वेच्छातारा दंगालले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलेमार्फत संघीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
सेनेटरी प्याडमा भन्सार शूल्क र भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । विद्यार्थीहरु हेटौंडा क्याम्पसमा भेला भई र्यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेका थिए । र्यालीमा सहभागी विद्यार्थीले ‘ए सरकार प्याडमा त कर नलगाइदे’, ‘सरकार प्याड रहर होइन बाध्यता हो’, ‘हाम्रो सास्ती सरकारलाई मस्ति’, ‘सके फ्रि नसके सबैले किन्न सक्ने बनाइदे’ जस्ता नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।
सेनेटरी प्याडमा सरकारले करोडौं रुपैयाँ भन्सार शूल्कवापत आम्दानी गरेको भन्दै केहीदिन यता सरकारको आलोचना भइरहेको छ । सरकारले सेनेटरी प्याडमा १० प्रतिशत भन्सार शूल्क र १३ प्रतिशत भ्याटबापत राजश्व लिँदै आएको छ ।