काठमाडौँ । नेकपा एमाले केन्द्रिय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीनवटै प्रतिवेदन सुझावसहित पारित गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित भएको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
असोज १५ गतेदेखि सुरु हुने विधान महाधिवेशनमा देशभर र प्रवाससमेतबाट गरी करिब ५ हजार प्रतिनिधिले भाग लिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । आजको बैठकले सरकारले पारित गरेको बजेट प्रतिस्थापन विधेयक राष्ट्रिय कानून विरुद्ध भएकाले तत्काल फिर्ता गर्नुपर्ने र स्रोत नखुलेको सम्पत्तिलाई खुला गर्ने सरकारको कार्यको विरोध गर्ने थप दुई वटा प्रस्ताव समेत पास गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।