काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशभरिका शुभेच्छुक तथा कार्यकर्ताको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताउनुभएको छ ।पार्टीले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू अप्ठ्यारोमा पर्ने भएकाले मात्र विगतमा पार्टी दर्ता नगरेको बताउनुभयो ।
अध्यक्ष नेपालले हाल परिस्थितिमा परिवर्तन आई एमाले अध्यक्ष केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास मिलेको र अब पार्टीको क्रान्तिकारी धार सबै एक भएर अगाडी बढ्ने बताउनुभयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष के पी शर्मा ओली व्यक्तिवादीमा चुर्लुम्म डुबेपछि विद्रोह गरेर नयाँ पार्टीका गठन गर्नुको विकल्प आफूहरूसँग नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने पनि बताउनुभयो । उहाँले अब पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
नेकपा एमालेमा भएका अर्बौँका सम्पत्तिबारे पार्टीले दाबी गर्छ कि, गर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले त्यस विषयमा कानुनअनुसार अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष नेपालले राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको चयन गरिने जानकारी दिनुभयो । पहिलादेखि साथ दिएका कतिपय नेताहरूले अहिले साथ छाडेको भन्दै अध्यक्ष नेपालले अहिले देशव्यापी रुपमा कार्यकर्ता नेताहरू पार्टीका समाहित हुने क्रम बढ्दै गएको बताउनुभयो । उहाँले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको उल्लेख गर्दै पूर्वपश्चिम रेलमार्ग र पानी जहाजका कुरा क्रमिक रुपमा हुँदै जाने भएकाले अहिले सञ्चालनमा ल्याउन सकिने रेललाई मात्र सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले सडक सञ्जालको सुधार एवं बिस्तार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विषयमा जोड दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।