आज देशका चारवटा प्रदेशका केहि ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षाकाे संभावना रहेकाे माैसम विदले बताएका छन् । यी प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ ।
तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि देशका धेरै ठाउँको मौसम अहिले आंशिदेखि सामान्य बदली रहेकाे मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ ।
यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो प्रणालीको असर कम छ । तर, अन्य प्रदेशमा भने असर रहिरहेकाले ती प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।