अबको केही दिन देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । गएको २४ घण्टामा लुम्बिनी प्रदेशमा अति ठूलो वर्षा भएको छ। प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा भएको छ । एक सय मिलीमिटर भन्दा धेरै पानी परे अति ठूलो वर्षा भनिन्छ । लुम्बिनी प्रदेशका भैरहवा, रुपन्देही, नवलपरासी पश्चिममा अति ठूलो वर्षा भएको छ ।
यस्तै, प्रदेश-२ मा धनुषामा र प्रदेश-१ को झापामा सबैभन्दा धेरै वर्षा भएको छ । यस्तै, वाग्मती प्रदेशमा मकवानपुरको भोर्लेनीमा ठूलो वर्षा भएको छ । देशका अन्य ठाउँमा भने हल्कादेखि मध्यमखालको झरी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । मनसुनी गतिविधि थप सक्रिय रहेकाले केही दिन अझै झरी पर्ने उहाँको भनाइ छ । लगातार वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम पनि उत्तिकै बढेको छ । नवलपरासीको अरूण खोला लगायतका स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने हुँदा तटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।