मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आगामी भदौ २० गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । आइतबार बसेको ८१औं बोर्ड बैठकले आगामी २० गते समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले गत साउन २९ गते आयोजना गरेको जिल्ला सभाको समिक्षा गर्दै आगामी भदौ २० गते समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार जिसस मकवानपुरले हरेक वर्ष साउन महिनामा जिल्ला सभा र भदौ महिनामा जिल्ला समिक्षा कार्यक्रम आयोजना गर्दै आएको हुँदा समिक्षा कार्यक्रम आगामी २० गते आयोजना गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो । जिल्ला सभामा जस्तै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गरेर समिक्षा कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले समिक्षा कार्यक्रम तयारी तथा जिल्ला सभाबाट भएका निर्णय कार्यान्वयनका लागि ठोस योजनाका साथ लाग्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा जिसस सदस्यहरु गणेश कुमारी श्रेष्ठ, देवराज रिमाल, सिता अधिकारी, सरिता विश्वकर्मा, बुद्धिबहादुर मोक्तान, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।