मकवानपुर– मकवानपुर जिल्लाका ४ वटा स्थानीय तहहरुमा सुरक्षित आप्रवासन परियोजना (सामी) सुरु हुने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकामा परयोजना सुरु हुने भएको हो ।
सुरक्षित आप्रवासन परियोजना (सामी) संचालन तथा व्यवस्थापनकालागि गठित कार्यान्वयन तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकले परियोजना संचालन गर्ने निर्णय गरेको हो । सुरक्षित आप्रवासनकालागि स्विस सरकारको सहयोगमा नेपाल सरकार मार्फत संचालन हुने परियोजनाकालागि ४ वटै स्थानीय तहका प्रमुखहरुले सहमति दिएका हुन् ।
ह्ेटौंडा उपमहानगरपालिकको सभाहलमा सोमबार बसेको बैठकले परियोजना संचालनकालागि एमओयु गर्ने, फोकल पर्सन तोक्ने, खरिद उपसमितिलाई सेवा प्रदायक संस्था छनोट गर्नेलगायतका काम गर्न निदेशन दिने लगायतका निर्णय गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा बसेको बैठकमा उपमेयर मिना कुमारी लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि लगायतको सहभागिता रहेको हेटौंडा उपमहानगरपालिकाका आर्थिक शाखा प्रमुख राम कृष्ण थापाले जानकारी दिनुभयो ।