काठमाडौँ – कोरोना भाइरसबाट आज थप ३ हजार ४ सय ८१ जना संक्रमित भएका छन् । आज १० हजार ९ सय ७ नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय १६ जना तथा ५ हजार ७ सय ४९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा ६ सय ६३, ललितपुरमा १ सय ९२ र भक्तपुरमा १ सय ९ जना गरी काठमाडौँ उपत्यकामा मात्रै ९ सय ६४ जना संक्रमित थपिएका छन् । आज कूल पिसिआर परीक्षणको २४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेशमा परीक्षणको ३६ दशमलव ४ प्रतिशत तथा प्रदेश नं। १ मा २९ प्रतिशत एवं कर्णाली प्रदेशमा २८ दशमलव ४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक महिनामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या घटबढ भइरहेको देखिए पनि संक्रमण दर भने सधैँ २५ प्रतिशतको हाराहारी अर्थात् हरेक ४ परीक्षणमा १ जना संक्रमित भेटिएको प्रवक्ता डा. पौडेलले बताउनुभयो ।
यसै गरी आज कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या १० हजार १ सय ८० पुगेको छ । यस्तै आज थप १ हजार ८ सय ८५ जना संक्रमित निको भएका छन् भने निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यसै गरी आज १ लाख ९५ हजार २ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने हाल सम्म ४५ लाख ७० हजार ५ सय ५३ जनाले खोपको कम्तीमा एक मात्रा तथा २८ लाख ८८ हजार ३ सय ६० जनाले खोपको पुरा मात्रा लगाएका छन् । हाल सम्म खोपका लागि लक्षित जनसङ्ख्याको २१ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने १३ दशमलव २८ प्रतिशतले पुरा मात्रा खोप प्राप्त गरेको मन्त्रालयका प्रवक्ता डा। पौडेलले बताउनुभयो । प्रवक्ता डा. पौडेलले हाल सम्म १ करोड ८ लाख मात्रा खोप प्राप्त भइसकेको र थप १ करोड २ लाख मात्रा खोप प्राप्त गरी असोज मसान्त सम्ममा करिब एक तिहाइ जनसङ्ख्यालाई खोप पुर्‍याउने गरी काम भइरहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले प्रदेश नं। १ र २ मा आगामी हप्ता देखी नै कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिको उमेर समूहलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनिकाको खोप दिइने जानकारी दिनुभयो ।