मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरू भएको विचार व्यक्त गर्नुभएको छ । बिहीबार हेटौंडा–१४ मयुरधापमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफूलाई एमाले भन्नेहरुकै गद्धारीका कारण एमालेको सत्ता बहिर्गमन भएको बताउनुभएकाे हाे ।

मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाअभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेर पटक पटक असक्षम प्रमाणित भइसकेको व्यक्तिलाई सत्ता सुम्पन महत्वपूर्ण भूमिका खेल्ने एमालेका नेताहरु माफीका लायक नरहेको जिकिर गर्नुभयो । मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढेको बताउनुभयो । अनेकौं छलकपट र चक्रव्युहको अवस्था सिर्जना गरेर एमालेलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुखमा परिणत हुँने उहाँले बताउनुभएको ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका वाग्मती प्रदेश संगठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको दावी गर्नुभयो । ललिता निवासको जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता बिजय गच्छदारले अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर उन्मक्ती पाउनु यसको उदाहरण भएको उहँँले बताउनुभयो । उहाँले केही दिनमा दर्जनौंलाई इटाभट्टामा जिउँदै पोल्ने आलम पनि छुट्नसक्ने आसङ्का समेत व्यक्त गर्नुभयो । वाग्मती प्रदेश सभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले नेकपा एमालेलाई विकासको सम्वाहकको रुपमा बुझिसकेको दावी गर्नुभयो । कार्यक्रममा विभिन्न दल परित्यागगरि ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई मुख्यमन्त्री पौडेललगायत नेताहरुले पाट्रीमा स्वागत गर्नुभएको थियो ।