मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा सोमबार स्थानीय तह समन्वय बैठक बसेको छ । जिल्ला समन्वय समति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा नदिजन्य स्रोत व्यवस्थापन, विपद व्यवस्थापन, कोरोना रोकथाम तथा खोप व्यवस्थापन, सरुवारोग अस्पताल निर्माण, मौजदात कोषको रकम परिचालनलगायत विभिन्न विषयमा छलफल तथा निर्णय गरेको छ ।

बैठकले नदिजन्य स्रोतको विषयमा आगामी वर्ष स्थानीय तहले विधिसम्वत तरिकाले आइइ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । नदिजन्य स्रोतको व्यवस्थापनका सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ एवम् नेपाल सरकारले पठाएको कार्यविधि अनुसार स्थानीय तह आफैले विधिसंवत ढंगले प्रारम्भीक वातावरण परीक्षण प्रतिवेदन स्वीकृत गरी कार्यान्वयनमा ल्याउने र त्यसका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, वन कार्यालय, तथा वन्यजन्तु आरक्षलगायत सरोकारवाला निकायबाट सहजिकरण गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।
त्यस्तै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा जिल्लामा अझैपनि कोरोनाको प्रभाव कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउन जनचेतना अभिबृद्धि गर्ने साथै खोपका सन्दर्भमा तोकिएको समुहलाई खोप लगाउन र नमुना परिक्षणलाई स्थानीय तहहरुले सहजिकरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै मकवानपुरका स्थानीय तहको सहकार्यमा निर्माण गर्न लागिएको सरुवा रोग अस्पतालका सन्दर्भमा अघिल्लो समन्वय बैठकले बनाएको परामर्श समितिले हालसम्म गरेका कामको जानकारी दिँदै थप कार्य अगाडी बढाउने निर्णय गरेको छ । बैठकमा समितिका संयोजक खुलालले हालसम्म विभिन्न निकायसंग परामर्शलगायतका कार्य अगाडी बढाएका जानकारी दिनुभएकोे थियो ।
त्यस्तै बैठकले जिससको मौजदात कोषको रकमको सन्दर्भमा कार्यविधि अनुसार सम्झौता गरी तोकिए बमोजिम कार्य सम्पन्न नगर्ने, सम्झौताका लागि नआउने स्थानीय तहमा मौजदात कोषको रकम उपलब्ध नगर्ने निर्णय भएको जानकारी गराईएको थियो । यस अघि आइतबार बसेको जिसस बोर्ड बैठकले गरेको उक्त निर्णय आजको समन्वय बेठकमा जानकारी गराईएको हो । यस्तै विपद व्यवस्थापनका सन्दर्भमा जिल्ला विपद व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्ने र विपद व्यवस्थापनका सामग्रीहरु व्यवस्था गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने तथा स्थानीय तहहरुलाई स्रोत नक्साङ्कन फारम यथासिघ्र भरी सबै स्थानीय तहहरुलाई पुन निर्णय गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । गरिबसंग विशेश्वर कार्यक्रम अन्तरगत स्थानीय तहहरुलाई यस अघि नै स्रोत नक्साङ्कन उपलब्ध गराउन पत्राचार गरिएको थियो । बैठकमा जिसस मकवानपुरद्धारा तयार पारिएको मकवानपुर टुरीजम पार्टलको शुभारम्भ समेत गरिएको थियो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदर हुमागाई, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे, कैलाश गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङ्, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पाबर्ती राना, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, समन्वय अधिकारी आनन्दराज पोखरेल, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौड्याल, डिभिजन वन कार्यालय राप्तीका प्रमुख दीर्घनारयण कोईराला, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायलगायतको उपस्थित् थियो ।