काठमाडौँ – नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल सङ्ख्या ९ हजार नाघेको छ । कोरोनाका कारण आज थप ३४ जनाको मृत्यु भएपछि हाल सम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य मापदण्डको अनिवार्य पालना तथा सम्भावित सङ्क्रमितले समयमै परीक्षण हुन नसक्दा संक्रमण एवं मृत्युदर निरन्तर बढिरहेको बताउनुभयो । प्रवक्ता पौडेलले सरकारले लक्षण भएका सबै व्यक्तिको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको जानकारी दिनुहुँदै समयमै परीक्षण गराई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनुहुन सबैलाई अनुरोध समेत गर्नुभयो । प्रवक्ता पौडेलले दिनुभएको जानकारी अनुसार आज देश भरमा गरी थप १ हजार ९ सय २० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । आज ६ हजार नमूनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना तथा ३ हजार ८ सय ३८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी आज ३ हजार ७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म ५ लाख ८४ हजार ३ सय ३४ जना संक्रमित निको भइसकेको र निको हुने दर ९२ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।