हेटौंडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । सोमबार मदन भण्डारीको जन्मोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन गर्नुहुने भएको हो । प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंका अनुसार प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
प्रतिष्ठानले स्थापना भएको पहिलो वर्षमा तीनवटा विषय अध्यापन गराउने अनुमति पाएको छ। चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि प्रतिष्ठानलाई ८० सिट निर्धारण गरेको छ। जसमा बिपिएचमा २०, बिफार्मा ३० र बिएस्सी एमएलटीमा ३० सिट तोकिएको छ। प्रसाईंले चिकित्सा शिक्षा आयोगले परीक्षा केन्द्र रोज्न विद्यार्थीलाई अनुरोध गरिसकेको हुँदा आगामी साउनदेखि नै शैक्षिक कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । यस्तै गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा मदन भण्डारीको जन्मोत्सवको अवसरमा सोमबारदेखि डायलसिस सेवा सुरु हुने जनाइएको छ। हेटौंडा उपमहानगरपालिकाको पहलमा प्राप्त भएको पाँचवटा मेसिनबाट पहिलोपटक अस्पतालले डायलासिस सेवा दिन लागेको प्रसाईंले बताउनुभयो ।