सांकेतिक तस्विर

काठमाडौं – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेके छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ । बुधबारसम्म तालिका तय गरिसक्ने मन्त्रालयले जनाएको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।
अब काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने गरि खुलेको हो ।