मकवानपुर – मकवानपुरमा जारी निषेधाज्ञा परिमार्जनसहित एक साता थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस एवम् जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा असार १४ गते राती १२ बजेसम्म थप्ने निर्णय गरेको हो । निषेधाज्ञा परिमार्जनसहित एक साता थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
जिल्लाभित्र संक्रमणको दर क्रमश घट्दै गएको तर जोखिम यथावत नै रहेको हुँदा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । अहिलेको निषेधाज्ञामा केही परिमार्जन गर्दै अत्यावश्यक काम परी घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र भिडभाड नगर्न, नगराउन आदेश जारी गरिएको छ । जिल्लामा गएको बैशाख १९ गते राति १२ बजे देखि जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३० गते देखि भोलि असार ७ गते राति १२ बजेसम्मका थप गरिएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति सकिँदैछ ।
अब औषधी पसल, कृषि बीउबीजन तथा मल विक्री वितरण गर्ने पसल र भेटनरी, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्न, अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसलहरू विहान ४ बजेदेखि विहान १० बजेसम्म सञ्चालन र्ग पाईने भएको छ । यस्तै पुस्तक तथा स्टेसनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ताचप्पल पसल, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् विक्रीवितरण गर्ने पसल, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट टेकअवे र होमडेलिभरी हुने गरी दिनको १२ बजेदेखि दिनको ४ बजेसम्म सञ्चालन गर्न पाईने, तर, फुटपाथमा पसल राख्न नपाईने निर्णय गरेको छ ।
सार्वजनिक गाडी आउँदो १४ गते रातिसम्म सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका यात्रुबाहक सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने भएको छ । तर, निजी यात्रुबाहक सवारी साधनहरू (मोटरसाइकल समेत) र मयुरी, अटो, ट्याम्पो (दुई जना भन्दा बढी यात्रु बोक्न नपाउने गरी) गते अनुसार जोड बिजोड प्रणालीका आधारमा सञ्चालन गर्न पाइने भएको छ । भने, सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था एवं अत्यावश्यक सेवा प्रदान गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा कार्यालय समयमा मात्र र समाचार संकलन÷सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा सवारीसाधन सञ्चालन र आवतजावत गर्न दिइने भएको छ ।
त्यस्तै अन्य जिल्लाबाट आएका पूर्व–पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत जावत गर्न पाइने, औद्योगिक कच्चा पदार्थ, तयारी उत्पादन एवं खाद्यान्न बोक्ने सवारी साधनहरू हेटौडा बजार क्षेत्रभित्र विहान १० बजेदेखि दिनको ४ बजेसम्म मात्र आवत जावत एवं लोड अनलोड गर्न पाइने भएको छ । औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी, गराई उद्योग प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीहरूसँग समन्वय गरी उद्योग सञ्चालन गर्न पाईने भएको छ । विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न पाईने भएको छ ।
अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट सञ्चालन गर्नुपर्ने तथा बैंक, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा वित्तिय सहकारी संस्थाहरूबाट प्रदान गरिने सेवाहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी एक तिहाई कर्मचारीहरूबाट विहान १० बजेदेखि दिनको २ बजेसम्म मात्र सञ्चालन गर्ने र वित्तिय तथा सहकारी संस्थाहरूबाट घर दैलोमा गई रकम संकलन गर्ने र समूह भेला गरी रकम संकलन गर्ने, गराउने कार्य पूर्णरूपमा बन्द गरेको छ । होटल÷लज, शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब, सपिङ मल, स्ट्रिट फुड पसल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, फुटसल पूर्णरूपमा बन्द रहने छ ।
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा अनिवार्य बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सम्पन्न गर्न सकिने भएको छ । विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा एकवटा सवारी साधनमा ७ (सात) जनासम्म मात्र जान सकिने भएको छ ।