काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका १० नेतालाई समावेश गराएर मन्त्रीमण्डल विस्तार गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार तथा सूचना, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय आफैसँग राख्नु भएको छ । त्यस्तै सरकारमा रहेका मन्त्रीहरू विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालय, वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र लीलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको नै जिम्मेवारी दिइएको छ भने रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्र मन्त्रालय र शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिइएको छ ।
जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधान तथा शहरी विकास मन्त्रालय, शरतसिंह भण्डारीलाई ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय, अनिल झालाई खानेपानी तथा सरसफाई मन्त्रालय, विमल श्रीबास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उमाशङ्कर अरगरियालाई वन तथा वातावरण मन्त्रालय, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था मन्त्रालय, चन्दा चौधरीलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र एकबाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री र रेनुका गुरुङलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनाइएको छ ।
