मकवानपुर– बागमती प्रदेश स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौडा अस्पतालको लागि आज काठमाडौँबाट ८ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अस्पतालमा अक्सिजन अभाव भएसँगै आज हेलिकप्टर मार्फत ८ वटा कन्सन्ट्रेटर अस्पतालमा ल्याइएको हो ।
प्रतिमिनेट १० लिटर अक्सिजन सप्लाई गर्न सक्ने क्षमताका ८ वटा कन्सन्ट्रेटर ल्याइएको अस्पतालले जनाएको छ । विद्युतको माध्यमबाट चल्ने उक्त कन्सन्ट्रेटरले अक्सिजन पाइपलाइन पुगेको बेडसम्म मात्रै सो सुविधा पुग्ने अस्पताल सञ्चालन समितिले जनाएकाे छ । यस्तै हेटौँडा अस्पतालमा सेनाले पनि आज २० वटा अक्सिजन सिलिन्डर ल्याएको छ । बाराको परवानीपुरबाट आज दिउँसो सेनाले आफ्नो गाडीमा सिलिन्डर ल्याएको हो । यस्तै थप ५० थान अक्सिजन सिलिन्डर बारा जिल्लाबाटै आइपुगेको छ । अस्पतालमा आजका लागि अक्सिजन पुग्ने बताइएकाे छ । हेटौँडा अस्पतालमा हाल दैनिक २ सय ४० सिलिन्डर अक्सिजन आवश्यक छ ।