मकवानपुर– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशको आर्थिक समृद्धिकालागि सरकारले औद्योगिकरणमा जोड दिएको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको शुक्रबार शिलान्यास गर्नुहुँदै मन्त्री भट्टले सरकारले औद्योगिकरण मार्फत रोजगारी सृजना गर्ने र आर्थिक समृद्धि हासिल लक्ष्य लिएको बताउनुभयो ।
मन्त्री भट्टले सरकारले “आर्थिक विकासका लागि औद्योगिक पुर्वाधार, समृद्ध नेपाल सुखि नेपालीको आधार” भन्ने नाराका साथ काम अगाडी बढाएको बताउनुभयो । उहाँले औद्योगिक विकासका लागि देशमा राजनैतिक स्थितरता हुनुपर्नेमा भन्दै राजनीतिक स्थिरता नभएसम्म औद्योगिक क्षेत्रको विकास नहुने समेत बताउनुभयो । देशको समृद्धि र विकासका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा घरभित्र नै ‘प्रतिपक्ष’ को भूमिका खेल्नेहरुका कारण केही अप्ठ्यारो भएको उहाँको भनाई थियो । मन्त्री भट्टले अर्थतन्त्रलाई गतिशील र आत्मनिर्भर उन्मुख गराउन संघीय सरकारले प्रत्येक प्रदेशमा नयाँ औद्योगिक क्षेत्रको विस्तार गर्न लागेको समेत बताउनुभयो । उहाँले निर्यातमुखी उद्योगलाई आत्मनिर्भर बनाउन सरकारले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र विस्तार गर्न लागेको र यसका लागि मौजुदा ऐन÷कानुन परिमार्जन गरी उद्योगलाई अघि बढाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरको रुपमा विकास गरिने उल्लेखख गर्नुभयो । उहाँले उद्योगको नाममा जग्गा ओगट्ने प्रबृतिको अन्त्य गरि नयाँ सोचका साथ उद्योग सञ्चालन गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन आग्रह गर्नुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले आयतमुखी भन्दा निर्यातमुखी उद्योगलाई प्राथमिक्ता दिनुपर्ने बताउनुभयो । निर्यातमुखी उद्योगहरु सञ्चालनमा नआएसम्म आर्थिक परिवर्तन नहुने उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले औद्योगिक क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र सञ्चालनमा आउने कुनै पनि समस्या समाधानका लागि आवश्यक समन्व्य र सहजिकरण गर्न तयार रहेको समेत बताउनुभयो ।
बागमती प्रदेशको राजधानी हेटौंडा बजारबाट करिब ७ किलोमिटर दक्षिण तर्फ हेटौंडा–पथलैया सडकको पशुपतिनगरबाट करिब ३ किमि पश्चिममा अवस्थित उक्त क्षेत्रमा २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधाप औद्योगिक क्षेत्र बनाउने गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रका नाममा गरेको थियो । औद्योगिक क्षेत्र निर्माणका लागि करिब साढे सात अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले अघिल्लो दुई वर्षदेखि बजेट विनियोजन गरिरहेको छ, भने चालु आवमा पनि करिब ३१ करोड रुपियाँ विनियोजन गरेको छ । औद्योगिक क्षेत्रको डीपीआर तयारीपछि मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाको लागि सम्झौता समेत गरिसकेको छ ।
१९९ विगाह १७ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त औद्योगिक क्षेत्रमा ७ देखि १४ रोपनी क्षेत्रफलका ६२ वटा प्टलहरु निर्माण हुने बताईएको छ । अबको एक महिनाभित्र उद्योग स्थापनाका लागि आशयपत्र आह्वान गरिने, पत्रका आधारमा ६ महिनाभित्र उद्योगीलाई चाहिने न्यूनतम् पूर्वाधारहरु (अस्थायी सडक, बत्ती र पानी) व्यबस्थापन गरी औद्योगिक क्षेत्र र उद्योगीले सँगसँगै आआफ्ना पूर्वाधार निर्माण कार्य थालनी गरी २ वर्षभित्र सम्पन्न गरेर उद्योग सञ्चालनमा ल्याउने बताइएको छ । ५ वर्षभित्र औद्योगिक क्षेत्र व्यबस्थापनले सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ । औद्योगिक क्षेत्रमा उद्योगलाई आकर्षण र विकासका लागि न्यूनतम् ५ वर्षका लागि जग्गाको भाडामा पूर्णछुट र १० वर्षपछिमात्र पूर्णरुपमा भाडादर कायम हुने लगायतका विभिन्न सुविधाहरु प्रदान गरिने समेत बताईएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको अध्यक्षतामा भएकोे कार्यक्रममा सविधान सभाका सदस्य अनन्त पौडेल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, प्रदेशका प्रमु सचिव मान बहादुर बिक, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतको आतिथ्यता थियो ।