मकवानपुर– अक्सिजन अभावका कारण हेटौँडा अस्पतालमा कोरोना भाइरस सङ्क्रमणका बिरामीको उपचारमा समस्या उत्पन्न भएको समयमा नेपाली सेनाको ट्रकमा अक्सिजन ल्याइएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अक्सिजन अभाव भएकाले नेपाली सेनाको ट्रकमा अक्सिजन ल्याएको हो ।
अक्सिजन अभावकै कारण अस्पतालमा रहेका ४० जनाभन्दा बढी गम्भीर अवस्थाका कोरोना संक्रमित सहितका बिरामीको जीवन जोखिममा परेको थियो । उद्योगहरूले अक्सिजन आपूर्तिमा असमर्थता जनाएपछि हिजैदेखि अस्पतालले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल, गृह सचिव महेश्वर न्यौपाने, प्रदेशका मन्त्रीहरूलगायतलाई समस्याबारे जानकारी गराएको थियो ।
मुख्यमन्त्रीको पहलका आधारमा ज्योति समूहको भाजुरत्न इन्जिनियरिङले दैनिक सय सिलिन्डर आपूर्ति गरिरहने प्रतिबद्धता जनाएको थियो । तर, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले आफ्नै जिल्लामा अभाव रहेकाले थप सिलिन्डर बाहिरी जिल्लामा नपठाउने निर्णय गरेको भन्दै उद्योग सञ्चालकहरू पन्छिएपछि समस्या भएको थियो । तर सबै पहलमा हाल अस्पतालमा अक्सिजन आएपछि समस्या समाधान भएको छ ।