मकवानपुर– गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ । आगामी जेष्ठ ६ गते हुने उपनिर्वाचनका लागि आज हेटौँडामा उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो– ‘अहिलेको चुनावमा कूल ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पाँच हजार एक सय ३० मत छ, यो मतले के स्पष्ट देखाउँछ भने यो निर्वाचनमा मेरो जित सुनिश्चित छ ।’ एमालेको एक समूहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो, सबै मत मलाई नै आउँछ ।’ उम्मेदवार दर्ता गर्नुअघि बादलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेताहरूसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । छलफलपछि निर्वाचन आयोगको बागमती प्रदेश कार्यालय हेटौंडामा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यसैबीच उहाँको विपक्षीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टीका तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । भने नेमकिपाले समेत केन्द्रिय सदस्य कृष्ण बहादुर तामाङलाई उमेद्वार बनाएको छ । उपनिर्वाचनका लागि आजै उम्मेदवारको सूची प्रकाशन हुने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने तथा वैशाख २९ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । उपनिर्वाचनमा प्रदेश सभातर्फ ११० र स्थानीय तहतर्फ २३८ गरी ३३८ मतदाता रहेका छन् । मतदान आगामी जेठ ६ गते हेटौंडा–४ मा रहेको भुटनदेवि स्कुलको चौरमा हुनेछ ।