मकवानपुर– बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेका तर्फबाट गृहमन्त्री राम बहादुर थापा ’बादल’, गठबन्धनका तर्फबाट डा खिमलाल देवकोटा र नेमकिपाका तर्फबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । हेटौंडा –५ स्थित निर्वाचन आयोग बागमती प्रदेश हेटौँडाको कार्यालयमा पुगेर उहाँहरुले मनोनयन दर्ता गराउनुभएको हो ।
उपनिर्वाचनमा बादलको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ । यस्तै देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले तथा तामाङेको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु रहनुभएको छ ।
राष्ट्रियसभाको उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेको एकल उमेद्वारका रुपमा बादललाई अगाडी सारिएको छ । २०७४ सालको निर्वाचनमा नेता रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रका तर्फबाट यसै निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो । भने, देवकोटा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षको साझा उम्मेदवार हुन् । उनले यस अघि बागमती प्रदेशको निती तथा योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका छन् । तमाङ् भने नेमकिपाका केन्द्रीय सदस्य हुन् ।
उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गर्ने र शुक्रबार नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुने जनाइएको छ । वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । वैशाख २९ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । बिहीबार अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको छ । जसमा प्रदेश सभातर्फ ११० र स्थानीय तहतर्फ २३८ गरी ३३८ मतदाता रहेका छन् । मनोनयन दर्ताको समय साझँ ४ बजे सम्म तोकिएको छ । निर्वाचनको मतदान आगामी जेठ ६ गते हेटौंडा–४ मा रहेको भुटनदेवि स्कुलको चौरमा हुनेछ ।