मकवानपुर– कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर र मालपोत कार्यालय मकवानपुरले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय मकवानपुरले आज एक सुचना जारी गर्दै मंगलबार भोलि देखि बार अनुसार सेवा प्रदान गर्ने भएको हो ।
सेवाग्राहीहरुको चापका कारण कोभिड–१९ को जोखिम बढ्ने हुँदा प्रशासनले जिल्लाका १० वटै स्थानीय तहका नागरीकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको हो । कोभिड संक्रमणको जोखिम बढेको भन्दै बार अनुसार नागरिकलाई सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी बनाउन सबै स्थानीय तहका नागरिकहरु आउँदा कोभिडको जोखिम बढेको भन्दै बार अनुसार सेवा दिन लागिएको उहाँले बताउनुभयो ।
सोमबार जारी सुचनामा आइतबार र सोमबार मकवानपुरको थाहा नगरपालिका, राक्सिराङ, कैलाश र ईन्द्रसरोबर गाउँपालिकाका नागरिकहरुलाई सेवा दिने जनाईएको छ । यस्तै मंगलबार र बुधबार बागमती, बकैया, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका नागरिकले सेवा पाउँने छन् । यस्तै बिहीबार र शुक्रबार हेटौंडा र मनहरी गाउँपालिकाका नागरिकलाई सेवा दिने व्यवस्थापन भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यस्तै शान्ति सुरक्षा, मुद्धा, कोभिड सम्बन्धी नियमित कामहरु भने संचालन हुने उहाँले जानकारी दिनुभयो ।
यस्तै मालपोत कार्यालय मकवानपुरले सेवाग्राहीलाई अति आवाश्यक काम बहेक कार्यालयमा नआउन अनुरोध गर्दै मंगलबार भोलीदेखी सेवा प्रबाहमा नयाँ तालिका सार्बजनिक गरेको छ । आज एक सुचना प्रकाशन गर्दै कार्यालयले आईतबार, मंगलबार र बिहिबार दृष्टिबन्धक र धितोबन्धक लिखत पारित सम्बन्धी कार्यहरु मात्र हुने तथा सोमबार, बुधबार र शुक्रबार राजीनामा लगायत अन्य सबै लिखत पारित सम्बन्धी कार्यहरु हुने जनाएको छ । साथै कार्यालयको आन्तरिक तथा प्रशासनीक कार्य, ठाडो रोक्का, फुकुवा र मुद्दा फाँट सम्बन्धी कार्यहरु नियमित रुपमा संचालन हुने प्रमुख मालपोत अधिकृत रामचन्द्र भण्डारीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
कार्यालयले अति आवाश्यक काम बहायेक कार्यालयमा नआउन सेवाग्राहीहरुमा अनुरोध गर्दै कोभिड १९ को संक्रमण तीव्र रुपमा बढ्ने क्रम जारी रहेको सन्दर्भमा संक्रमणबाट कर्मचारी लगायत सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखी सेवा प्रवाहमा केहि कटौती गरी सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट निर्देशन प्राप्त भए अनुसार सेवामा कटौती गरिएको कार्यालयबाट सोमबार प्रकाशित सुचनामा जनाईएको छ ।