मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आईतबार हेटौंडामा दुईवटा प्रहरी भवनको एकसाथ उद्घाटन गर्नुभएको छ । आइतबार मुख्यमन्त्री पौडेलले हेटौंडा–११ थानाभर्याङमा निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र हेटौंडा–१५ रातोमाटेमा रहेको प्रहरी चौकी भवनको उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन सकिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले संघिय सरकारबाट अनुमति लिएर प्रदेश सरकारले प्रहरी भवनहरुको निर्माणमा दतारुकताका साथ अघि बढेको बताउनुभयो । प्रहरीले जनशक्तिको अभावका बाबजुत आफ्नो काम पुर्ण जिम्मेवारी पुर्वक गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश प्रमुख सचिव मानबहादुर विके, जिसस प्रमुख रघुनाथ खुलाल, हेटौंडाका मेयर हरिबहादुर महत, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी बसन्तकुमार लामा लगायतको उपस्थिति रहेको थियो । एक करोड ७३ लाख ३० हजार ३ सय ७३ रुपैंयाका दरले दुईवटा प्रहरी कार्यालय भवन निर्माणको जम्मा लागत ३ करोड ४६ लाख ६० हजार ७ सय ४७ रुपैंया रहेको जनाईएको छ ।