हेटाैंडा – जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन मकवानपुरले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । नेकपा (एमाले) का तत्कालीन महासचिव भण्डारीको यही असार १४ गते पर्ने जन्मदिनका अवसरमा फाउण्डेशनले भोली असार १२, १३ र १४ गते विभिन्न कार्यक्रम आयोजना गर्ने फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उहाँको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवद्र्धन गर्दै आएको छ ।
अध्यक्ष खुलालका अनुसार जन्मजयन्तीका अवसरमा १२ गते हेटौंडाको बुद्धचोकमा रक्तदान कायृक्रम आयोजना गर्ने भएको छ । यस्तै असार १३ गते मकवानपुर बहुमुखी क्याम्पसमा “मैले चिनेको मदन भण्डारी” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता र १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको प्रतिमामा माल्यापर्ण र हेटौंडा–९, स्थित दिव्य वाल उद्यानमा बृक्षारोपण कार्यक्रम आयोजना हुने अध्यक्ष खुलालले बताउनुभयो यस्तै जन्मजयन्दत्मा अवसरमा फाउण्डेशनले “मैले चिनेको मदन भण्डारी” शीर्षकमा श्रब्यदृष्य समेत तयार गर्ने उहाँले बताउनुभयो । उहाँले फाउण्डेशनले सञ्चालन गर्ने कार्यक्रममा सहभागि हुन समेत सबैमा अनुरोध गर्नुभएको छ ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो भने निधन २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा भएको थियो । पाेखराबाट चितवनको कार्यक्रममा जाने क्रममा भएकाे उक्त जीप दुर्घटनामा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भएको थियो ।