म्यान अफ दि म्याच हस्तान्तर गर्नुहुँदै जिसस प्रमुख

मकवानपुर– हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्ड कपमा लिग विजेता मछिन्द्रलाई पराजित गर्दै आयोजक रिगल हेटौँडा रिसोर्ट मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ । हेटौंडाको बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा बुधवार भएको सेमिफाइनल खेलमा मकवानपुरले लिग विजेता मच्छिन्द्रलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

आज भएको खेलमा आयोजकका तर्फबाट अमिर श्रेष्ठले ४७ र ६९ औ मिनेटमा गोल गरेका थिए भने रुपेश केसीले २० औँ र रञ्जन विष्टले ३५ औँ मिनेटमा गोल गरेका थिए । मच्छिन्द्रका तर्फबाट पूजन उप्रकोटीले १०औँ मिनेटमा अशोक थापाले ५० औँ र राजेश परियारले ६४ औँ मिनेटमा गोल गरेका थिए ।खेलको लिग विजेता मच्छिन्द्रका तर्फबाट गोल गर्दै पूजनले अग्रता दिलाए पनि जित भने आयोजकको पोल्टामा परेको हो । खेलको म्यान अफ द म्याच २ गोल गर्ने मकवानपुरका अमिर श्रेष्ठ भए उनले १० हजार प्राप्त गरेका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगितामा भोलि दोस्रो सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन र आर्मीको भिडन्त हुनेछ । गोल्ड कपमा १० वटा क्लबले सहभागिता जनाएका थिए । प्रतियाेगितामा विदेशी टिम अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन सहित ए डिभिजन लिगका ६ वटा क्लबहरूले गोल्ड कपमा सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र उत्कृष्ट खेलाडीले रोयल एन्फिल्ड मोटरसाइकल प्राप्त गर्नेछन् । यसैगरी विधागत उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । मकवानपुरका १० वटै स्थानीय तहको प्रायोजन रहेको प्रतियोगिताको फाइनल खेल आगामी चैत्र ७ गते हुने छ ।