मकवानपुर– साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिएको छ । कला साहित्य र पत्रकारिताको माध्यमबाट समाजमा महत्वपूर्ण योगदान पु¥याउनुभएको भन्दै मातृभूमि साहित्य समाज मकवानपुरले लम्साललाई ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरेको हो ।
रेडियो नेपालका समाचार प्रमुखका रुपमा समेत रहनुभएका लम्साललाई महालक्ष्मी विकास बैंकले स्थापना गरेको उक्त पुरस्कार शनिबार हेटौंडामा एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । उच्च अदालत पाटन हेटौंडा इजलाशका मुख्य न्यायधीश शेषराज शिवाकोटी, बैंकका निमित्त कार्यकारी निर्देशक जगतकुमार अधिकारी, बरिष्ठ साहित्यकार तुल्सी थापालगायतले लम्साललाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गर्नुभएको थियो । विगत २५ वर्षदेखि रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाउँदै आउनुभएका लम्सालले ‘करण’ र ‘धरा’ गरी दुइवटा महाकाव्य प्रकाशन गर्नुभएको छ । त्यस्तै उहाँका गीति संग्रह, कविता संग्रह गरी झन्डै एक दर्जनभन्दा बढी कृतिहरु प्रकाशित भइसकेका छन् ।
लम्सालसँगै मातृभूमिले संस्थाका संस्थापक देवराज खरेल र धार्मिक तथा ऐतिहासिक खोज र लेखनीमा योगदान पु¥याएको भन्दै केदारप्रसाद न्यौपानेलाई पनि सम्मान गरेको छ । न्यौपानेले विभिन्न स्थानको धार्मिक र सामरिक महत्वको बारेमा अध्ययन गरी पुस्तक प्रकाशन गर्नुभएको छ, भने खरेलले कविता, निबन्ध र मुक्तकमार्फत साहित्यमा योगदान पु¥याउँदै आउनुभएको छ ।
कार्यक्रमकैबीच हेटौंडेली कवि दिनेश शर्माको कविता संग्रह ’एउटा मृत्यु यो पनि’ विमोचन गरिएको छ । कविता संग्रहमाथि साहित्यकार राजबाबु पहाडीले समालोचनात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार सानुबाबु खनाल, हेमन्त ढुंगेललगायत एक दर्जन कवि तथा गजलकारले आफ्नो रचना बाचन गरेका थिए । संस्थाका अध्यक्ष माधव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुल्सी थापा, संस्थाका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयग्रीव आचार्यलगायतको आतिथ्यता रहेको थियो ।